हालसम्मकै ठूलो परिणामको अबैध सुन बरामद, शंकास्पद केही ब्यक्ति पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिणामको अबैध सुन बरामद भएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले उक्त परिणाममा सुन बरामद गरेको हो । चीनबाट ल्याइएको मोटरसाइलको ब्रेकप्याडमा १६० सेटमा लुकाइएको अवस्थामा सुन बुधबार बरामद गरिएको विभागले जनाएको छ । विशेष सूचनाका आधारमा ८० देखि १०० केजी हाराहारीको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।
ढुंगानाका अनुसार विमानस्थलको कार्गो गोदाममा छापा मारेर उक्त परिणामको सुन बरामद गरिएको हो । यद्यपि, सुनको तौल भने लिइनसकिएको ढुंगानाले जानकारी दिए । तर, ८० देखि १०० केजी हाराहारीमा सुन हुनसक्ने उनको भनाइ छ ।
यो विमानस्थलबाट अवैध रूपमा ल्याइँदै गर्दा बरामद भएको हालसम्मकै ठूलो परिणामको सुन भएको बताइएको छ ।उक्त सुनको तौल भने भोलि लिइने ढुंगानाले जानकारी दिए । उक्त सुन हङकङबाट ल्याइएको र भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।
सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले जनाएको छ ।बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । यस प्रकरणमा शंकास्पदकेही व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।(सांकेतिक तस्बिर)

