सडक कालोपत्रे सम्बन्धि योजना निरन्तरताको माग गर्दै थुलुङ दुधकोशी उच्च अदालतमा
बिराटनगर । टेण्डर प्रक्रिया पुरा भईसकेको बहुबर्षीय योजना कटौती विरुद्ध सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उच्च अदालत बिराटनगरमा रिट दायर गरेको छ।

नेलेदेखि गाउँपालिका केन्द्र मुक्लीसम्मको करिव ८ किलोमिटर सडक कालोपत्रे सम्बन्धि योजना कटौती भएपछि गाउँपालिका अध्यक्ष असिम राईले कोशी प्रदेश सरकारबिरुद्ध उच्च अदालत बिराटनगरमा बुधबार रिट दायर गरेका हुन्।कोशी प्रदेश सरकारले अध्यादेशमार्फत चालु आर्थिक बर्षका लागि सार्बजनिक गरेको बजेटमा सो योजना कटौती गरिएको अध्यक्ष राईद्वारा दायर रिटमा उल्लेख गरिएको छ।
प्रदेशसभामा बिश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ अवस्थामा रहेको तत्कालीन सरकारले अध्यादेशमार्फत जारी गरेको बजेटमा पूर्बाग्रहपूर्ण ढंगले कटौती गको सो योजना पुन: कायम हुनुपर्ने माग समेत अध्यक्ष राईले गरेका छन्। गत आर्थिक वर्षमै बहुबर्षे आयोजनाका रुपवमा समाबेश भई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्रोत सुनिश्चित गरिएको रिट निवेदनमा उल्लेख छ।
मन्त्रालयले बहुबर्षे स्वीकृति प्रदान गरेर सबै प्रक्रिया पुर्याई टेन्डर भैसकेको उक्त योजना खारेज गरिनु अवैध रहेको अध्यक्ष राईको भनाई छ ।
उक्त सडकखण्ड कालो पत्रे नुहँदा थुलुङदुधकोशी गाउँपालिका सहित सोताङ र महाकुलुङ गाउँपालिका आवतजावत गर्ने यात्रुले समेत सास्ती पाइरहेका छन् । वर्षातको समयमा झनै हिलाम्मे हुने सडक कालोपत्रका लागि अध्यक्ष राईले अघिल्लो कार्यकाल देखि नै प्रदेश सरकारसंग पहल गर्दै आइरहेका थिए ।
विना कुनै कारण बजेट कटोती भएपछि असन्तुष्ट रहेका गाउँपालिका अध्यक्ष असिम राई योजना फिर्ता पाउनका लागि केही समयदेखि प्रयासरत थिए । अध्यक्ष राईले भनेका छन्, ‘तर आन्तरिक प्रयासले योजना पुन कायम हुने स्थिति नभएपछि हामीले न्यायिक बाटो रोजेका हौँ ।’

