आजबाट साउने व्रत सुरु,मुलुकभरका शिबालयहरुमा भक्तजनहरुको भिड
काठमाडौं।आजबाट साउने व्रत सुरु भएको छ। साउन महिनाको पहिलो सोमवारबाट सुरु हुने साउने ब्रतको अवसरमा काठमाडौंको गौशालास्थित पशुपतिनाथ लगायत देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ।

बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिनुभयो । जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् त्यहीँ ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुुभयो ।
सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनु भएको छ । यस्तै, आज सोमवार औँसी पनि हो । सोमवार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।
यसैबीच, साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन ।पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

