मनाङ एयरको हेलिकप्टर दुर्घटना : मृतकको शव काठमाडौंमा, छानबिनका लागि समिति गठन
काठमाडौँ । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी कलसाईन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो।हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार ६ जनाको मृत्यु भएको थियो । लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
यसैबीच,सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ। मंगलबार साँझ अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर ६ जनाको शव काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ल्याइएको हो।
मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिक रहेका छन् । जसमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका रहेका छन् ।

