गल्ती स्वीकार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धतापछि बैठक सुचारु गर्न एमाले सहमत
काठमाडैं।झण्डै हप्ता दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आजबाट सूचारु हुने भएको छ।

साेमवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभएकाे छलफलमा सहमति जुटेसंगै बैठक सूचारु हुने बताईएको हो।तीन नेताबीचको सहमति बारे जानकारी गराउन अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका थिए।
त्यसका लागि प्रधानमन्त्री प्रचण्डले आफ्नो कमजोरी स्वीकार गरी प्रतिनिधिसभामा सम्बोधन गर्ने सहमति भएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सांसदहरुलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री प्रचण्डले गएकाे असार १८ गते एक पुस्तक विमाेचन कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवराेध गर्दै आएकाे थियाे । यसअघि हिजाे आइतवार शीर्ष तीन दलबीच सदन खुलाउन सहमति भएकाे भनिए पनि त्यसकाे दुई घण्टामा नै संसद् स्थगित भएकाे थियाे । आजकाे सहमतिपछि प्रतिनिधिसभाकाे बैठक केहीबेरमा सुरु हुँदैछ ।

