प्रधानमन्त्री प्रचण्डको आग्रहमा भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं।आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । प्रधानमन्त्रीको वक्तव्यका लागि समय आवश्यक भएकाले सभामुखलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेर सूचना टाँस गरी बैठक स्थगित भएको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य फिर्ता लिन एमाले अध्यक्ष ओलीले भनेपछि प्रधानमन्त्रीले आज गर्ने भनिएको सम्बोधन रोकिएको हो । सो वक्तव्यमा एमालेमाथि लान्छाना लगाइएकाले फिर्ता लिनुपर्ने अडान छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए ।
तर, महासचिव डा गौतमले टाँसेको सूचनामा भने सोमबार अपरान्ह ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ ।

