कोशी प्रदेश : प्रचण्डका ज्वाईंले पाए फेरि महत्वपूर्ण मन्त्रालय



बिराटनगर।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं जीवन आचार्यले फेरि पनि कोशी प्रदेशमा महत्वपूर्ण मन्त्रालय हात पारेका छन्।

यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारका पालामा पर्यटन, वन तथा वातावरण मन्त्री रहेका आचार्यले कांग्रेस नेता उद्द्ब थापा नेतृत्वको बर्तमान प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रालयकाे जिम्मेवारी पाएका हुन्।आचार्य सहित तीन जना आजै मन्त्री नियुक्त भएका थिए।उनीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

आइतबार बिहान नेकपा माओवादी केन्द्रबाट दुई र कांग्रेसका एक मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिएका हुन् ।माओवादीबाट आचार्यलाई जिम्मेवारी दिइँदा राजेन्द्र कार्की तथा कांग्रेसका रामकुमार खत्रीलाई भने बिनाविभागीय मन्त्री बनाइएको छ ।

आचार्य मोरङ क्षेत्र नम्बर ६ (२), कार्की सङ्खुवासभा १ (१) बाट निर्वाचित भएका थिए । त्यस्तै कांग्रेसका खत्री उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् । यसअघि कांग्रेसका प्रदीपकुमार सुनुवार र नेकपा एसका कमलप्रसाद जगेबुले पनि मन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए । योसँगै कोशी प्रदेशमा ६ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

प्रतिक्रिया दिनुहोस्