पहिचानका नाममा कोशी प्रदेशमा भइरहेका गतिविधि सरकारलाई सह्य छैन : सञ्चारमन्त्री
काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले
पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताउनुभएको छ।

शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले अराजक गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो।
अधिकारको पक्ष भन्दैमा कसैलाई पनि जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने वहाँको भनाई थियो। नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीवार गृहजिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो ।
उहाँले भन्नुभयो, ‘पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा आन्दोलनका क्रममा एक जनाको ज्यानसमेत गयो । प्रधानमन्त्रीज्यूले बालुवाटार बोलाएर यस्ता आन्दोलन नगर्न पनि आग्रह गर्नुभयो । तर पछिल्ला केही दिनमा अराजक गतिविधि भइरहेका छन् । कसैले पनि लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्षपोषण गर्न पाउँछ तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्ने कुरा राम्रो कुरा होइन । त्याे अराजकतामा जानु हुँदैन।’
मन्त्री शर्माले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताउनुभयो । उहाँले केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने विश्वास व्यक्त गर्नुभयाे ।

