धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न देशबासीमा प्रधानमन्त्री प्रचण्डको आव्हान



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धानको उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशबासीहरूमा आव्हान गरेका छन।

जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ मनाउन लागिएको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सो आव्हान गरेका हुन्।सबैका प्रयासहरू धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद अर्थतन्त्र निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,- नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको प्रमुख जिम्मेवारी हो।

नेपालको संविधान २०७२ ले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी भएको छ। उक्त ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रुभतालाई कानुनी अधिकारको रूपमा स्थापित गरेको छ। दीगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिवद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धतासमेत रहेको छ।
देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको छ। यी प्रयासहरूले धान उत्पादन वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भएता पनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्षेनी बढ्दै गएको छ।

अर्कोतर्फ पछिल्लो समय जलवायु परिवर्तनका कारण खुख्खा-खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी-पहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकरात्मक असर बढ्दै गएको छ। यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पुरा हुन कठिन हुने र यसले गर्दा हाम्रो खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्न सक्ने देखिन्छ। यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक छ। यस परिप्रेक्ष्यमा जलवायु अनुकूलित धानका जातहरू र उत्पादन प्रविधिहरूको विकास र अवलम्वनमार्फत दीगो रूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशबासीहरूमा आव्हान गर्दछु।file foto

प्रतिक्रिया दिनुहोस्