आज असार १५ अर्थात २० औं राष्ट्रिय धान दिवस
काठमाडौं।आज असार १५ अर्थात राष्ट्रिय धान दिवस ।असार १५ लाई नेपाली समाजमा दही–च्यूरा खाएर मनाउने प्रचलनसंगै सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउंदै आएको छ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।
यसैबीच,‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ ।
धानका यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।
जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुनेछ ।
नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।
कृषक र अन्य पक्षलाई यस्ता विषयमा सचेत र जागरुक तुल्याइ धान उत्पादन एवं उत्पादकत्व बढाउन यस वर्षको नाराले सन्देश दिएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।

