टाक्सिन्दुमा एक वर्षभित्र विद्युतको केन्द्रीय प्रसारण लाइन बिस्तार भइसक्ने



दिप खालिङ,सोलुखुम्बु।जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको काम तीब्र रुपमा भइरहेको छ ।

बिगत धेरै बर्ष अगाडि देखि टुकि बत्ती हटाउ अभियान अन्तर्गत मिनि हाइड्रोबाट झण्डै ६० किलोवाट क्षमताको विद्युत स्थानीयवासीहरुले प्रयोग गरिरहेको भएपनि सानो कम क्षमताका कारण टाक्सिन्दुवासीले हैरानी खेप्दै आएका थिए । केन्द्रिय प्रसारण लाइन जोडिएपछि टाक्सिन्दुका नागरिकहरुमा खुसी जोडिने वडा अध्यक्ष छोङबा शेर्पाले बताउनुभयो ।

त्यस क्षेत्रमा हेवा खोला माइक्रो हाइड्रोबाट टाक्सिन्दुको तल्लो क्षेत्रका स्थानीयहरु लाभान्वित छ्न भने घट्टेखोला डेकु हाईड्रोबाट माथिल्लो क्षेत्रका नागरिकहरु लाभान्वित छ्न ।

विद्युत कम क्षमताको भएकाले केहि ठुला मेसिनरी सामाग्रीहरु सञ्चालन गर्न र घरमा बत्ति बाल्न समेत गाह्रो हुने गरेको स्थानीयवासीको गुनासो छ ।टाक्सिन्दु वडा, नेपाल विद्युत प्राधिकरणसँगै सोलुदुधकुण्ड नगरपालिकाले समेत यस क्षेत्रमा विद्युतीकरणको लागि पहल गरिरहेको मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

अहिले उक्त क्षेत्रमा पोल गाड्ने, पोल ढुवानी गरेर पुर्‍याउने काम जारी छ । ५ सय ५० घरधुरी रहेको टाक्सिन्दुमा  १ वर्ष भित्र विद्युत विस्तार गरिसक्ने वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

यसैबीच, सो वडामा यस अघि टेलिफोनमा समेत बृहत् समस्या थियो । आफू निर्वाचित भइसकेपश्चात टेलिकमसँग समन्वय गरेर टाक्सिन्दु डाँडामा टावर सन्चालनमा ल्याउन सफल भएको उहाँको भनाई छ ।

अहिले नेटवर्कको समस्या अन्त्य भएसँगै वडावासीले खुशी व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्