खरिखोला माविका विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री प्रदान
दिप खालिङ,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाँउपालिका १ मा रहेको खरिखोला माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री प्रदान गरिएको छ ।

एक्सन खरिखोला स्विजरल्यान्डको आर्थिक सहयोग र एक्सन खरिखोला नेपालको सहकार्यमा शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा खेलकुद पोशाक,शैक्षिक सामग्री,स्कुल ब्याग प्रदान गरिएको हो ।यसैगरी विद्यालयका ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई बार्षिक १२ हजार रुपैयाँको छात्रवृत्ति समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक तिलक रानामगरले जानकारी दिनुभयो ।
सामग्रीहरु एक्सन खरिखोला नेपालका अध्यक्ष तथा समाजसेवी शेरबहादुर रानामगरले वितरण गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापक राना मगरका अनुसार एक्सन खरिखोला स्विजरल्यान्डको आर्थिक सहयोग र एक्सन खरिखोला नेपालको सहकार्यमा विगत २३ वर्षदेखि निरन्तर खरिखोला माध्यमिक विद्यालयलाई सहयोग प्राप्त भइरहेको छ ।
शैक्षिक सामग्री प्राप्त भएपछि बिद्यार्थी तथा अभिभावकहरु खुशी भएका छन् । विद्यालयका विद्यार्थीहरुलाई प्राप्त सहयोग प्रति एक्सन खरिखोला नेपाल र एक्सन खरिखोला स्वीजरल्याण्ड प्रति बिद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच खरिखोलामा बाल बिबाह न्युनिकरण सम्बन्धी जनचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश मार्फत् प्राप्त महिला सशक्तीकरण कार्यक्रम, खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको आर्थिक सहयोग र खरिखोला माध्यमिक विद्यालयको आयोजनामा बालबिबाह न्युनिकरण सम्बन्धी कार्यक्रम आज (शनिबार) भएको हो ।
नेपालको कानुनले २० बर्ष उमेर नपुगी गरेको बिबाहलाई बैधानिकता नदिएपनि समाजमा अझै पनि उमेर नपुगी बिबाह गर्ने चलन रहेको छ । बाल विवाह न्यूनिकरण गर्ने उद्देश्यले खुम्बुपासाङल्हमु गाँउपालिका को वडा न. १ खरिखोला बजार र सिक्ली दलित अजम्बरी संस्थाको भवनमा खरिखोला प्रहरी चौकी सहितको टोलीले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको खरिखोला माध्यमिक बिद्यालयका प्रधानाध्यापक तिलक राना मगरले जानकारी दिनुभयो ।

