सल्लेरीमा स्थानीय स्रोत शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।सोलुखुम्बुको शैक्षिक गुणस्तर सुधारका लागि दुई दशकदेखि काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले स्थानीय तहको समन्वयमा स्थानीय स्रोत शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम आजबाट सल्लेरीमा सुरु गरेको छ । ६ दिनसम्म संचालन हुने तालिममा विभिन्न स्थानीय तहका २० जना स्थानीय स्रोत शिक्षकहरुको उपस्थिति रहेको जनाईएको छ।

शैक्षिक गुणस्तर सुधारमा टेवा पुगोस् भन्ने उद्देश्यले स्थानीय तहको समन्वय तथा सहकार्यमा रीड नेपालले सोलुदुधकुण्ड नगरपालिकामा ४ जना थुलुङ दुधकोशी गाउँपालिकामा ३ जना, नेचासल्यान गाउँपालिकामा ४ जना, माप्यदुधकोशी गाउँपालिकामा ४ जना, सोताङ गाउँपालिकामा २ जना, महाकुलुङ गाउँपालिकामा २ जना र लिखुपिके गाउँपालिकामामा २ जना गरी २१ जना स्थानीय स्रोत शिक्षकको गत वर्षदेखि संजाल निर्माण गरी कार्यक्रम संचालन गरिरहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो।
जसका लागि स्रोत शिक्षकको क्षमता अभिवृद्धि गर्ने र सम्बन्धित पालिकाका विद्यालयमा गएर अनुगमन निरीक्षण गर्ने आफुले सिकेका सिप अन्य शिक्षकहरुसंग आदानप्रदान गर्ने विद्यालयका सुधार गर्नु पर्ने पक्षहरु बारे पृष्ठपोषण दिने लगाएतका काम स्थानीय स्रोत शिक्षकहरुले गर्ने गरेको यसका अलवा शैक्षिक सामग्री निर्माण तथा प्रयोग, कक्षाकोठा व्यवस्थापनको पाटोमा पनि सहयोग गर्ने गरेको रीड नेपालले जनाएको छ।
तालिममा आधारभूत शैक्षिक सामग्री निर्माण र प्रयोग, परिवर्तित पाठ्यक्रम तथा विद्यार्थी सिकाइ मूल्यांकन, विद्यालयको वर्तमान अवस्थाको विशेषण, नमूना कक्षा तयारी तथा नमूना कक्षा प्रदर्शन, विद्यालय सहयोग भ्रमण कार्यक्रमको अवधारणा, योजना निर्माण, प्रतिवेदनलेखन लगायतका विषयवस्तु तालिममा समेटीने संयोजक गिरीले बताउनुभयो।
उक्त कार्यक्रमको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुण्य राज डंगोलले गर्नु भएको थियो कार्यक्रमको सहजीकरण रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटी, रीड नेपाल ताप्लेजुङ जिल्ला प्रबन्धक राजेन्द्र पन्त , शिक्षा विकास संयोजक केशव देव गिरी शिक्षा विकास अधिकृत सुजाता राईद्वारा गरिने रीड नेपालले जनाएको छ ।

