नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।नेपालका पुराना सहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने उनले उल्लेख गरे । प्राकृतिक वातावरणको हिसाबले पनि नेपाल संसारभरका मानिसका निम्ति योगभ्यासका लागि एउटा सुन्दर भूमि रहेको उनले बताए ।
सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् । उनले योग र ध्यानको महत्त्व, परम्परा र विरासतलाई आत्मसात् गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए । यो निर्णयले आध्यात्मिक चिन्तनको महत्त्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे
प्रधानमन्त्री प्रचण्डले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । उनले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको बताए ।
नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिने उनको धारणा छ ।file foto

