भ्रष्टाचार मुद्दामा बिशेष अदालतले तोक्यो हालसम्मकै सबैभन्दा बढी बिगो,जरिवाना र सजाय



काठमाडौं।विशेष अदालतले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र सहसचिव चुडामणि शर्मालाई जेल सजाय तोकेको छ। 

महतलाई ९ वर्ष एक महीना र ढकाल र शर्मालाई ९/९ वर्ष कैद तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए। साथै उनीहरूलाई ६ अर्ब १५ करोड ७० लाख ४६ हजार कुल बिगो तिराउने पनि ठहर भएको छ।  

तीन जनाले दामसाहीले जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय बिगो तिनुपर्छ। योगीका अनुसार राजस्व कसुरमा जरिवाना भने बिगोको दोब्बर हुन्छ। त्यसैले तीन जनाले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय रुपैयाँ जरिवाना तिनुपर्ने फैसला भएको उनले बताए।  श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले दण्ड निर्धारण गरेको हो। 

कर दातासँग सरकारले उठाउनुपर्ने कर आपसी समझदारीमा निर्धारण गर्ने अख्तियारीसहित २०७१ मा आयोग गठन गरेको थियो। तर नक्कली भ्याट बिल विजक प्रकरणमा मुछिएका, राजस्व न्यायाधिकरणमा विचाराधीन मुद्दा, करदाता स्वयंले घोषणा गरी तिर्न राजी भएका कम्पनीहरुको समेत राजस्व छुट दिएको भेटिएपछि अख्तियारले मुद्दा दायर गरेको थियो।

आयोगको समयावधि सकिने बेलामा प्राप्त भएका निवेदन चलानी किताब करेमेट गरी पहिल्यै दर्ता भएको देखाइ कर फर्छ्यौट गरेको उनीहरुमाथि आरोप लागेको थियो।

उनीहरु जेठ १८ गते नै दोषी ठहर भएपनि सजाय निर्धारण भने आज भएको हो।भ्रष्टाचार मुद्दामा बिशेष अदालतले तोकेको यो सबैभन्दा बढी दण्ड, बिगो र जरिवानाको सजाय हो।

प्रतिक्रिया दिनुहोस्