चार दलले घोषणा गरे समाजबादी मोर्चा,स्थानीय स्तरसम्म बिस्तार गरिने



काठमाडौं। चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेकाे नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेकाे नेकपा कम्युनिस्ट पार्टी मिलेर आज सोमवार समाजवादी माेर्चा घाेषणा गरेका हुन् ।

काठमाडाैंकाे राष्ट्रिय सभागृहमा भएकाे कार्यक्रममा चार दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन् । सहमतिपत्रमा माअ‍ोवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपत्रमा समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद रहने उल्लेख छ । यसैगरी, समाजवादी मोर्चाको प्रस्तावना, उद्देश्य तथा नीतिगत प्रतिबद्धता, सङ्गठनात्मक संरचना, सचिवालय, सदस्यता र घटक दलहरूको स्वायत्तता, मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया, नीति तथा कार्यक्रमलगायतका मुख्य विषय छन् ।

मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने जनाइएको छ ।

मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रम कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय बनाइने जसमा सदस्य दलहरुबाट तोकिए अनुसार प्रतिनिधि रहने छन् ।

मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा लेखिएको छ, ‘‘सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने छ ।

नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।मोर्चालाई स्थानीयस्तरसम्म विस्तार गरिने बताईएकोन छ।

प्रतिक्रिया दिनुहोस्