सोलुखुम्बुलाई बजेटमा विभेद गरिएको भन्दै सांसद राईले जनाए आपत्ति
काठमाडौं।प्रतिनिधि सभा सदस्य मानवीर राईले सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटले सोलुखुम्बुलाई विभेद गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा अर्थमन्त्री आर्थिक बर्षको बिनियोजन बिधेयक माथिको छलफलका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न गर्दै सांसद राईले सो आपत्ति प्रकट गरेका हुन्। हिमाली जिल्ला भएर पनि सोलुखुम्बुले मुलुकको राजस्व संकलनमा महत्वपूर्ण योगदान गर्ने गरेको बताउंदै उनले दुई चारवटा पुल र सडकको नाम बजेटमा उल्लेख गर्दैमा त्यो पर्याप्त नहुने बताए।
सोलुखुम्बुबाट तराईसंग जोड्ने उत्तर-दक्षिण राजमार्गका लागि गतबर्षसम्म बजेट बिनियोजन हुने गरेकोमा यस बर्ष काटिएको भन्दै राईले आक्रोश समेत व्यक्त गरे।यस बिषयमा अर्थमन्त्री के भन्नुहुन्छ ? सांसद राईले भने- ‘अर्थमन्त्रीले गाईको दुध खाने तर घाँस नहाल्ने प्रवृत्ति देखाउनु भयो।’
सांसद राईले पर्यटीय क्षेत्र चौंरीखर्कसम्म जोड्ने सगरमाथा पहुँच राजमार्ग निर्माण गर्नुपर्नेमा जोड दिंदै आएका थिए।८ हजार मिटर माथिका तीन वटा हिमाल रहेको त्यस क्षेत्रमा जसोतसो पुगेपनि फर्कन हवाई मार्गको भर नभएका कारण पर्यटकहरु निराश हुने गरेको बताउंदै उनले सो क्षेत्रमा मोटरबाटो कहिले पुग्छ भनेर यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत प्रश्न गरेका थिए।

