सरकार ‘अखण्ड भारत’ को नक्साको बचाउमा,युवाको ध्यान ग्रेटर नेपालतिर



काठमाडौं।नयाँ संसद भवनमा भारतले राखेको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपाली भूमिसमेत समेटिएपछि राष्ट्रबादी नेपालीहरुले आक्रोश व्यक्त गरिरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुन्ड्याउन लगाएका छन्।

सरकार ‘अखण्ड भारत’ को नक्सा राजनीतिक नभएको भन्दै भारतको बचाउमा लागि रहेका बेला मेयर शाहले जस्तालाई तस्तै व्यवहार गर्नुपर्ने भन्दै सो भित्तेचित्र राख्न लगाएको निकठस्थहरुले बताएका छन्। उनले आफू स्वदेश फर्किएपछि सो नक्सा सार्वजनिक गर्ने योजना बनाएको बताईएको छ ।

मेयर बालेन श्रीमतीको उपचारका लागि हाल भारत गएका छन्।यसअघि नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले पनि कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्ने घोषणा गरेका थिए।

यसैबीच,नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्ने बताएका छन् ।विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँगको छोटो कुराकानीका क्रममा महामन्त्री थापाले लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा अधिकार रहेको बताए । उनले भने, ‘नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन, लान दिइँदैन ।’यसका निम्ति अरु कुनै कुरा, विकल्पबारे नेपालले सोच्न नहुने थापाको भनाइ थियो ।

अखण्ड भारतको नक्साबारे गगनले भने, ‘यदि कुनै अर्को देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा, नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने, यसबारे चिन्तन गर्ने, सोच राख्ने हक राख्छ । नेपालले हक र परिकल्पना प्रयोग गर्दै गर्दा भारतले चिन्ता गर्नु हुँदैन । भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्