लाखौं रुपैयाँ ठगी गरेको आरोपमा मेडिसिटी अस्पतालका तीन कर्मचारी पक्राउ
काठमाडौं।नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने तीन जना कर्मचारी पक्राउ परेका छन्।अस्पतालको लाखौं रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका – ४ घर भएका ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका – ११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटार बस्ने वर्ष ३४ को आशिष अर्याल रहेका छन्।
उनीहरुले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको सफ्टवेयरको दुरुपयोग गरी बिरामीहबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्क चढाएर ठगी गरेको अनुसन्धानमा खुलेको छ।
अस्पतालले ठगीको जानकारी प्रहरीलाई गराएपछि अनुसन्धान थालेको थियो। उनीहरुले दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया ठगी गरेको खुलेको छ।
अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ।

