सुनकोशीमा भेटियो सीटीइभीटीको गाडी र दुई जनाको शब,एकजना अझै बेपत्ता
काठमाडौँ।सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को गाडी मंगलबार साँझ फेला परेको छ । गाडीमा दुई जनाको शवसहित भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । एक जना अझै बेपत्ता छन् ।

सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएपछि गत शुक्रबारदेखि बेपत्ता गाडी र त्यसमा सवार दुई जनाको शव भेटिएको प्रहरीको भनाइ छ । शवको पहिचान भने हुन सकेको छैन ।
नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी डाईभर्सन गरेपछि मंगलबार नदीबाट गाडी र शव निकालिएको हो ।
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कार्पियो शुक्रबार मध्याह्न मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।
दुर्घटनामा सीटीइभीटीका प्रशासन निर्देशक भानु नगरपालिका- ९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका-५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए । (फोटो: सुनकोशी नदी)

