कोशी प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस-माओवादी केन्द्रबीच रस्साकस्सी सुरु
काठमाडौं।नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकारको आगामी नेतृत्वका लागि प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूबीच आजै देखि रस्साकस्सी सुरु भएको छ।

आगामी सरकारको नेतृत्वमा पार्टी संसदीय दलका नेता इन्द्र आङबो ‘मौसम’ लाई अघि सार्दै माओवादी केन्द्र प्रदेश कमिटी र संसदीय दलको आज बिहान बसेको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्तासहित सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो।त्यस लगत्तै बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको भर्खरै सकिएको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो।
‘प्रदेशमा अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने निर्णय हामीले गरेका छौं,’ दलका उपनेता हिमाल कार्कीले भने, ‘गठबन्धनको सबैभन्दा ठूलो दल हुनुको नाताले हाम्रो दाबी स्वाभाविक हुन्छ।’कोशीप्रदेमा कांग्रेस संसदीय दलको नेता उद्दब थापा छन्।
कार्कीले गठबन्धनका अन्य दलको नेतृत्वमा सरकार बन्ने निर्णय गठबन्धनमा भए कांग्रेसले त्यसलाई स्वीकार गर्ने बताए।सरकार गठनका लागि कोशी प्रदेशमा ४७ सांसद आवश्यक पर्छ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन्।

