प्रतिबद्धता उल्लंघन गर्ने हाईड्रोपावरमाथि कारबाही प्रक्रिया अघि बढाउने सोलुदुधकुण्डको चेतावनी



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले विद्युत विभागसँगको सम्झौता तथा वातावरणीय प्रभाव मुल्यांङकनको क्रममा गरिएको प्रतिवद्धता उल्लंघन गर्ने जलविद्युत कम्पनीमाथी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिकाभित्रका विभिन्न खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा आएका जलविद्युत कम्पनीहरुले खोलाको पानी सबै प्रयोग गरेको पाइएको भन्दै सूचना जारी गरेर नगरपालिकाले त्यस्तो चेतावनी दिएको हो।

नगरपालिकाले पालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुलाई खोलामा कम्तीमा १० प्रतिशत पानी छाड्न निर्देशन पनि दिएको छ।खोलालाई सुख्खा बनाएर पानी प्रयोग गर्दा वातावरणमा गम्भिर असर पुग्ने नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए।

तत्काल १० प्रतिशत पानी खोलामा नछाडेमा कारबाहीको प्रक्रिया अगाडी बढाउने मेयर शेर्पाको भनाई छ । सोलुदुधकुण्ड नगरपालिका भित्र १९.२ मेगावाटको बेनी हाइड्रोपावर, २३ मेगावाटको माथिल्लो सोलुखोला हाइड्रोपावर, ८२ मेगावाटको तल्लो सोलु र ५ं२ मेगावाटको दोभान हाइड्रोपावर कम्पन्नीले विद्युत उत्पादन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्