मन्त्री राजभण्डारीको संयोजकत्वमा कोशी प्रदेश सरकारले बनायो कानून,न्याय तथा प्रदेश मामिला समिति
विराटनगर । कोसी प्रदेश सरकारले बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो।बैठकले दुर्गा चापागाईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति समेत बनाएको छ।
यसैगरी कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्यांकनका लागि दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्यांकन समिति गठन गर्ने निर्णय समेत गरेको छ।
बैठकले संघबाट हस्तान्तरण भई आएका पूर्वाधार विकासका लागि अपुग तीन अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ केन्द्र सरकारसँग माग गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
सो अवसरमा सरकारले प्रमुख सचिव डा दीपक काफ्लेलाई स्वागत र पूर्वसचिव किशोर चौधरीलाई बिदाइसहित धन्यवाद प्रस्ताव पनि पारित गरेको छ ।
((मन्त्री राजभण्डारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति हुनुपर्नेमा यसअघि अन्यथा भएकोमा सच्याईएको छ।)

