एमाले प्रवेश गर्नेहरूका लागि मिसन ग्रासरुट अभियान महत्वपूर्ण अवसर : केन्द्रीय सदस्य राई



काठमाडौं।सोलुखुम्बुबाट निर्बाचित संघीय सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राईले बढी भन्दा बढी असल ब्यक्तिहरुलाई पार्टीमा भित्र्याएर संगठित सदस्यता बितरण र सदस्यता नविकरण गर्न आग्रह गरेका छन्।

सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित मिसन ग्रासरुट, पार्टी सुदृढीकरण तथा बिस्तार अभियान एबम् प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य राईले सो आग्रह गरेका हुन्।पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा पार्टी प्रवेश गर्नेहरूले संगठित सदस्यता र उचित जिम्मेवारी तत्काल प्राप्त गर्ने भएकाले अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुका लागि यो महत्वपूर्ण अवसर भएको राईको भनाई थियो। बिगतमा पार्टीले सञ्चालन गरेका अन्य अभियान जस्तो मिसन ग्रासरुट कर्मकाण्डी नभएको स्पष्ट पार्दै उनले नेता कार्यकर्ताहरुका सबै गतिविधि पार्टीले सुक्ष्म ढंगले निगरानी गरिरहेकाले प्राप्त जिम्मेवारीलाई इमान्दार ढंगले निर्बाह गर्न निर्देशन समेत दिए।

सम्पर्क मञ्चका अध्यक्ष नन्दराज बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अर्का केन्द्रीय सदस्य तथा मिसन ग्रासरुट अभियानका लागि सोलुखुम्बुका केन्द्रीय प्रतिनिधि नरेन्द्र श्रेष्ठले जस्तोसुकै परिस्थितिमा पनि एमालेलाई एकताबद्द र सुदृढ बनाउनका लागि एमालेले यो अभियान सन्चालन गरेको जानकारी दिए ।नेकपा एमालेका १० लाख ७० हजार पार्टी सदस्य छन्,एकजना पार्टी कार्यकर्ताले दुई जनालाई पार्टी सदस्य बनाउने र भोट हालिरहेकाले ५ मत सुरक्षित गर्ने अपेक्षा गत निर्बाचमा गरिए पनि परिणाम उल्टो आएपछि त्यो समस्याको पहिचान र उपचार गर्न देशब्यापी रूपमा एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उनको भनाई थियो।गत निर्बाचनमा पार्टीले पराजय भोग्नु पर्नाको कारण चौतर्फी घेराबन्दी भनिए पनि अभियानका क्रममा पार्टीमा अन्तरघातको डर लाग्दो रोग सुरु भएको पाईएको छ, यसलाई निको बनाउन कतै औषधिले मात्रै काम गर्ने,कतै एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने र कतै अपरेसन नै गर्नुपर्ने जरुरी देखिएको छ,केन्द्रीय सदस्य श्रेष्ठले भने । पछिल्लो समय नीति भन्दा पनि नेतृत्वतर्फ सबै नेता कार्यकर्ताको ध्यान केन्द्रित हुन थालेका कारण नेतृत्व गौण र नीति प्रधान रहेको सन्देश तल्लो तहसम्म पुर्‍याउन पनि ग्रासरुट अभियान सञ्चालन गर्नुपरेको उनको भनाई थियो ।

राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले पार्टीलाई एकताबद्द बनाएर आगामी निर्बाचनमा बहुमत ल्याउन सक्ने बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको धारणा राखे ।उनले ब्यक्ति केन्द्रित नभई सामूहिक हितलाई प्राथमिकतामा राखेर जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताउंदै जिल्लाको बिकासका लागी उपयुक्त किसिमका सुझाव दिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

कोशी प्रदेशका सामाजिक बिकासमन्त्री एबम् उदयपुरका लागि ग्रासरुट अभियानका अभियानका केन्द्रीय प्रतिनिधि बुद्धिकुमार राजभण्डारीले कोसी प्रदेशको नामाकरणका सन्दर्भ मा कतिपय पार्टी कार्यकर्ताहरुले सामाजिक सञ्जालमा जथाभावी पोष्ट,कमेन्ट र सेयर गरेकोप्रति असन्तुष्टि जनाउँदै पार्टीको नीति र निर्णयलाई मान्नु सबै नेता कार्यकर्ताहरुको दायित्व भएको बताए।

सम्पर्क मञ्चका उपाध्यक्ष केशर श्रेष्ठले स्वागत मन्तव्य र उपसचिब प्रबिण कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा सम्पर्क समन्वय कमिटीका सहसचिव बिष्णु दाहालले पनि आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्