थुलुङ दुधकोशी गाउँ कार्यपालिका बैठक सम्पन्न,१३ विद्यालयमा ब्यबस्थापन समिति अध्यक्ष नियुक्त
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले दुईवटा कार्यविधि पारित गरेको छ।गाउँपालिका अध्यक्ष अशिम राईको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले सवारीसाधन तथा हेवी इक्वीमेन्टहरुको सञ्चालन कार्यविधि-२०७९ र ज्येष्ठ नागरिक आश्रय केन्द्र कार्यविधि-२०७९ पारित गरेको हो।

बैठकले गाउँपालिका भित्रका १३ वटा विद्यालयमा ब्यबस्थापन समिति अध्यक्ष पनि नियुक्त गरेको छ।हरेक विद्यालयमा आयोजित अभिभावकको भेलाबाट निर्बाचित चार जना सदस्यले पेश गरेको कार्ययोजनामध्ये सबैभन्दा उत्कृष्ट योजना पेश गर्ने ब्यक्तिलाई अध्यक्षमा नियुक्त गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।
कार्कीका अनुसार थुलुङदुधकोशी गाउँपालिका शिक्षा ऐन २०७५ को दफा १२ को उपदफा १ (क) बमोजिम उनीहरूलाई नियुक्त गरिएको हो।शुक्रबार नियुक्तिपत्र बुझ्नेहरुमा कालिका माबि पञ्चनमा मिनप्रसाद कोइराला, जनता माबी लोखिममा उत्तरकुबीर राई,जनसेवा माबिमा बिक्रम तामाङ र लमुडांडा आबिका लागि पासाङ तामाङ रहेका छन् ।पालिकाले विद्यालय ब्यबस्थापन समिति अध्यक्ष नियुक्त गर्ने नीति सोलुखुम्बुमा थुलुङ दुधकोशी गाउँपालिकाले मात्र अबलम्बन गरेको छ।
नवनियुक्त विद्यालय ब्यबस्थापन समिति अध्यक्षहरुलाई पत्र दिंदै गाउँपालिका अध्यक्ष राईले शैक्षिक सुधारका लागि निर्मम भएर काम गर्न निर्देशन दिए।नियमानुसार कार्य नगर्ने शिक्षक तथा कर्मचारीलाई कानुन अनुसार कारबाहीका लागि सिफारिस गर्न तथा सबै सरोकारवालासंग समन्वय गरि प्रभावकारी ढंगले शैक्षिक गतिविधि सञ्चालन गर्न सुझाव दिएका थिए।




