जिल्ला समन्वय समितिको जग्गा नगरपालिकालाई दिने निर्णयप्रति सोलु एमालेको आपत्ति
सोलुखुम्बु।जिल्ला समन्वय समिति सोलुखुम्बुको जग्गा सोलुदुधकुण्ड नगरपालिकालाई दिने निर्णय भएको भन्दै नेकपा एमाले सोलुखुम्बुले त्यसप्रति आपत्ति जनाएको छ।

जिल्ला समन्वय समिति, जिल्ला सभाले हालै नगरपालिकाको भवन निर्माण तथा कार्यालय प्रयोजनका लागि दिने गरि भएको निर्णयप्रति गम्भीर ध्यानाकर्षण गर्दै एमालेले आपत्ति जनाएको हो।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले शुक्रबार बिज्ञपति जारी गर्दै जिल्ला सदरमुकामको मुटुमा रहेको जिल्ला समन्वय समितिको क्वाटर,जिल्ला स्तरीय खेलकुद आयोजना हुने खेल मैदान र खुल्ला क्षेत्र नगरपालिकाको भोगचलनका लागि दिनु उपयुक्त नभएको भन्दै सो निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ।
बिकास निर्माण भनेको पुरानो संरचना समाप्त गर्ने नभई नयाँ सम्भावनाको खोजी भएको उल्लेख गर्दै अध्यक्ष बास्तोलाद्वारा जारी बिज्ञप्तिमा सयौं बर्षसम्मको सम्भावनाका आधारमा नगरपालिकाले छुट्टै उपयुक्त स्थानमा भवन निर्माण गर्न अनुरोध गरिएको छ।बिज्ञप्तिमा जिल्ला सभाको सो अनुपयुक्त निर्णयबिरुद्ध एकजुट हुन राजनीतिक दल, संघसंस्था,नागरिक समाज र सम्पूर्ण सोलुखुम्बुबासीहरुलाई अपिल समेत गरिएको छ।

