नेपाली सेनाले यो बर्ष पनि ‘सफा हिमाल अभियान’ सञ्चालन गर्ने



काठमाडौँ । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ।

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वयनलाई सेनाले प्राथमिकतामा राखेको छ । विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण्ण राख्ने सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।

सन् १९५३ मा तञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेयता सगरमाथामा मात्रै करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ । सेनाको अगुवाइमा सफाइसँग सरोकार राख्ने विभिन्न सरकारी एवं गैरसरकारी सङ्घ संस्थासँगको समन्वयन र सहकार्यमा अभियान सञ्चालन हुँदै आएको छ ।

यस वर्षको अभियानका लागि पूर्वतयारी र समन्वय तथा तालिम सञ्चालन र जनशक्तिको चयनसमेत भइसकेको छ । अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित नौ, अन्नपूर्णमा सहसेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन् । सेनाका अनुसार, अभियान यही चैत १४ देखि आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि सन् २०१९ मा सगरमाथाबाट कुहिने र नकुहिने गरी १० हजार आठ सय किलो र चार मानव मृत शरीर तथा सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालबाट २७ हजार छ सय ७१ किलो फोहर सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्