स्वबियु निर्बाचन : नेविसंघ १५, अनेरास्ववियु ३१ र अखिल क्रान्तिकारी २४ वटा क्याम्पसमा निर्विरोध
काठमाडौँ। झण्डै एक दशकपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दल निकट विद्यार्थी संघ/संगठनहरु यतिबेला अन्तिम प्रचारमा जुटेका छन् ।

राती १२ बजेबाट मौन अवधि सुरु हुने भएका कारण पनि उनीहरूका लागि आज निर्बाचन प्रचारप्रसारको अन्तिम दिन हो।निर्बाचन आउन तीनदिन मात्रै बांकी रहँदा कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन्।
विद्यार्थी संगठनहरुले उपलब्ध गराएको विवरण अनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१ र अखिल क्रान्तिकारीले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएका छन्।बांकी क्याम्पसमा चैत ५ गते निर्बाचन मार्फत नेतृत्व चयन गरिने छ।२८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्नेगरी त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको थियोे। स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।
स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ।
निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ। त्रिविमा स्ववियु निर्वाचन विसं २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो। २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई-दुई वर्षमा निर्वाचन हुँदै आएको थियो।
त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो। विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो।प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन। प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन।
२०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।

