मन्त्री श्रेष्ठद्वारा ललितकला प्रतिष्ठानको अवलोकन



काठमाडौं । वागमति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले काठमाडौँको टंगालमा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेका मूल्यवान कलाकृतिहरूको अवलोकन गरेका छन् ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालबहादुर लामा र सदस्य सचिब देबेन्द्र थुम्केलीलगायत प्राज्ञहरूले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । भेटघाटमा प्रज्ञा प्रतिष्ठानको तर्फबाट मन्त्रीलाई महत्वपूर्ण सुझावहरू दिएका थिए ।
उनीहरुले मन्त्री श्रेष्ठलाई प्रदेशहरूमा एक – एकवटा कला हब बनाउने, प्रदेशहरूमा प्रदेशस्तरीय कला प्रदर्शनी गर्ने, अन्तर्राष्ट्रिय स्तरको कला समिट काठमाडौँमा गर्ने, वागमती प्रदेशलाई कला रिसर्च सेन्टरको रूपमा विकास गर्ने, मठ, मन्दिर, चैत्य, गुम्बामा भक्तजनहरूले चढाएको भेटीको केही प्रतिशत कलाको उन्नयनका लागि लगानी गर्नुपर्ने, तीनै तहको सरकारले आफ्नो वार्षिक बजेटको कम्तीमा १ प्रतिशत कलाको सम्बर्दन र प्रवर्धनका लागि छुट्ट्याउनुपर्ने माग राखेका थिए ।

प्रदेशमा गठन गरिएका र गठन गरिने प्रज्ञा प्रतिष्ठानमा ललितकला विधाबाट समावेशी समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने पनि उनीहरुको माग रहेको छ।मन्त्री श्रेष्ठले सुझाव कार्यान्वयन गर्न गराउन इमानदारीपूर्वक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्