खुम्बु पासाङल्हामुमा एमालेको ”ग्रासरुट’ अभियान सुरु
सोलुखुम्बु।नेकपा एमालेले खुम्बु पासाङल्हामु गाउँपालिकामा मिसन ग्रासरुट अभियान सुरु गरेको छ।

गाउँपालिका कमिटीले चौंरीखर्कमा बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरि सोमबारबाट अभियान सुरु गरेको कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेतले जानकारी दिए।
गाउँपालिका कमिटी अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमले गाउँपालिकाका सबै वडामा ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय गर्दै तीन वटाका लागि मिति समेत तय गरेको छ। अध्यक्ष शेर्पाका अनुसार वडा कमिटीको आयोजनामा मंगलबार वडा नं-२, बुधबार ३ र शुक्रबार १ नं वडामा पार्टी सुदृढीकरण अभियान सञ्चालन गरिने छ।बांकी वडाको मिति भने पछि तय गरिने उनले बताए।
मिसन ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि तथा पार्टीका केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सचिवालय सदस्य बस्नेत,जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ तथा छिमेकी गाउँपालिका माप्यदुधकोशीकी गाउँपालिका कमिटी अध्यक्ष जुनितामाया मगर लगायत खुम्बुपासाङ ल्हामु गाउँपालिकाका नेता कार्यकर्ताहरुको उपस्थिति थियो।
अभियान अन्तर्गत कमिटी गठन,सदस्यता बितरण तथा नबिकरण लगायतका काम गरिने शेर्पाको भनाई छ।

