सरकारले गर्यो चालु आबको बजेटमा दुई खर्ब ४४ अर्ब रुपैयाँले कटौती
काठमाडौं।सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको आइतवारकाे बैठकमा चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार दुई खर्ब ४४ अर्ब रुपैयाँले कटौती गरिएको जानकारी दिनुभयो ।
यसअघि पूर्व अर्थ मन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याउनुभएकाेमा अहिले अर्थ मन्त्री पौडेलले संशोधन गरेर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झार्नुभएको हो ।यसअघि ११ खर्ब ८३ अर्ब रुपैयाँ चालु बजेट विनियोजन भएकोमा अब १० खर्ब २१ अर्ब रुपैयाँमा झारिएको छ । यस्तै तीन खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा अहिले तीन खर्ब १३ अर्ब रुपैयाँमा झारिएको अर्थ मन्त्री शर्माले जानकारी दिनुभएको छ ।

सरकारले राजस्व सङ्कलन र आन्तरिक ऋणको लक्ष्य पनि घटाएको छ । यसअघि १४ खर्ब ९६ अर्ब राजस्व र आन्तरिक ऋण सङ्कलनको लक्ष्य लिइएकोमा अहिले संशोधन गरेर १३ खर्ब ४१ अर्ब रुपैयाँमा झारिएको छ । ५५ अर्ब रुपैयाँको वैदेशिक अनुदानको लक्ष्य रहेकोमा यसलाई घटाएर अर्थ मन्त्री पौडेलले ३८ अर्ब ४५ करोड रुपैयाँमा झार्नुभएको छ ।
यस्तै बजेटमा दुई खर्ब ४२ अर्ब रुपैयाँ वैदेशिक ऋणको लक्ष्य लिइएकोमा अहिले संशोधन गरेर एक खर्ब ७० अर्ब रुपैयाँमा झारिएको पौडेलले जानकारी दिनुभयो ।अर्थ मन्त्री पौडेलले सरकारले फजुल खर्च रोक्नका लागि विभिन्न निर्देशन र कार्यविधि जारी गरेको विषय पनि संसद्लाई जानकारी दिनुभएको छ ।

