थुलुङदुधकोशीको देउसामा जाम/जुस बनाउने तालिम सम्पन्न



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको देउसामा जाम/जुस बनाउने तालिम सम्पन्न भएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ कार्यालयको माग अनुसार कोभिड–१९ बाट प्रभावित समुदायलाई सीप सिकाइ एवम् जनचेतना कार्यक्रम अन्र्तगत सञ्चालित सात दिने तालिम आज (मंगलबार) सकिएको हो ।

३५ जना स्थानीय कृषकहरु सहभागी रहेको तालिम समापनका क्रममा सहभागीहरुले तालिम उपलब्धीमुलक भएको बताएका छन् । सहभागी पासाङ तामाङले स्थानीयवासी कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको बताउनुभएको छ । देउसामा पहिलोपटक तालिम सञ्चालन भएको प्रति खुसी व्यक्त गर्दै उहाँले वडा तथा पालिकावाट आवश्यक सहयोगको आशा समेत व्यक्त गर्नुभएको छ ।

तालिमका अर्का सहभागी राजकुमारी राईले नयाँ तथा समय सान्दर्भिक तालिम सञ्चालन भएको भन्दै वडा सरकारलाई धन्यवाद दिनुभएको छ । स्थानीयवासीले अपेक्षा गरेको भन्दा फरक तर प्रभावकारी तालिम सञ्चालन हुनु देउसावासीको लागि खुसीको कुरा भएको उहाँको भनाई छ । कृषि प्रधान देश भनिएता पनि यहाँको श्रोत साधनको उचित सदुपयोग हुन नसकेको अवस्थामा यस्ता तालिम कोशेढुंगा साबित हुने तालिमका अर्का सहभागी नेत कुमार राईको भनाई छ ।

समापन कार्यक्रममा वडा अध्यक्ष भोजराज कार्कीले आवश्यक प्रक्रिया पुरा गरी सहभागीलाई उद्यमी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । रोजगार सृजनाको लागि उद्यम आवश्यक भएकाले तालिम आयोजना गरिएको भन्दै अध्यक्ष कार्कीले यस्तै प्रकारका अन्य तालिम आयोजना गरिने बताउनुभयो । कार्कीले सीप प्रदान गरि रोजगार सृजना गर्नको लागि उपकरण सहित अवाश्यक सहयोग गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि थुलुङ दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष सविता राईले रोजगार सृजना गर्ने गरि सहभागीलाई काम गर्न आग्रह गर्दै पालिकाको तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै सोलुखुम्बुकी घरेलु तथा उद्योग विकास अधिकृत संगीता राईले वडाको माग अनुसार कार्यक्रम सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अवसरमा तालिमका प्रशिक्षक खेतराज कार्की र मनमाया राई सहित घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख सहितलाई वडा कार्यालय र सहभागीले सम्मान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्