सरकारमा सहभागी हुने बिषयमा नेकपा एकीकृत समाजबादीमा दुई धार



काठमाडौं।बर्तमान सरकारमा सहभागी हुने बिषयमा नेकपा एकीकृत समाजबादीमा दुई धार देखिएको छ।आज सुरु पोलिटब्युरो बैठकमा आ-आफ्नो धारणा राख्ने क्रममा यो बिषयमा शीर्ष नेतृत्वबीच दुई धार देखिएको हो।बैठकमा अध्यक्ष माधव कुमार नेपालले तत्काल सरकारमा सहभागी नहुने र बरिस्ठ नेता झलनाथ खनालले सर्तसहित सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए।

बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका धारणा अघि सारेका हुन् । तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने उनको प्रस्तावमा उल्लेख छ ।

आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरुलाई अहिले मिलाउन र एकरुपता कायम गर्न नसकिने भन्दै नेता खनालले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए ।

उता, अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् । बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरे । ‘देशको राजनीतिक आफ्नै जटिलता छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ । हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ,’ नेपालले भने।

नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्