थुलुङ दुधकोशी : वडाध्यक्षले लिए शिक्षक तालिम



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष युजन बस्नेतले ५ दिनको शिक्षक तालिम लिएका छन ।रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको सयुक्त आयोजनामा आधारभूत तहका शिक्षकको क्षमता अभिवृद्धि तालिम थुलुङ दुधकोशीको वीरेन्द्रोदय माविमा पौष ७ गते देखि ११ गतेसम्म संचालन भएको थियो । तालिममा अंग्रेजी, सामाजिक, गणित, विज्ञान र प्रविधिका विषयवस्तु समेटिएका थिए।

उक्त तालिममा पुरै ५ दिन वडा अध्यक्ष बस्नेत सहभागीकै रुपमा सहभागी भएका हुन् ।वडा शिक्षा समितिको संयोजक वडा अध्यक्ष हुने हुँदा वडाको शिक्षालाई सुधार गर्न , अनुगमन तथा मुल्यांकन गर्न सहज होस् भन्ने हेतुले तालिममा सहभागी भएको वडा अध्यक्ष बस्नेतले बताए।

आफ्नो प्रमुख प्राथमिकता शिक्षाको सुधार रहेकोले शिक्षा सुधार गर्न आफूमा पनि ज्ञान आवश्यक हुनुपर्ने महसुश गर्दै तालिममा सहभागी भएको उनको भनाई छ । तालिममा ३ दिन गणित विषयमा र २ दिन अन्य विषयमा बसेर धेरै सिपहरु हासिल गरेको उनले बताए , तालिमबाट आफूले धेरै सिप सिकेको तालिमा सिकाइएका सिपहरुलाई विद्यालयमा लागु गर्न आफू लागि पर्ने बस्नेतले बताए ।

आफ्नो फुर्सद भएको बेला विद्यालयमा नै गएर शिक्षण गर्ने समेत उनको सोच रहेको छ भने तालिम लिएका शिक्षकहरुको कक्षा अवलोकन गरी तालिमका सिपलाई व्यवहारमा उतार्न लगाउने उनले थपे,-‘पहिले शिक्षकले कसरी शिक्षण गर्नु पर्छ भन्ने थाहा नहुँदा आफुलाई अनुगमन गर्न गार्‍हो भैरहेको अवस्थामा अब प्रयोगात्मक रुपमा प्रविधिको माध्यमबाट बालमैत्री ढंगले शिक्षण गर्ने तरिका सिकेकोले आफूलाई धेरै सहज हुने उनको अनुमान छ।’

तालिममा ३५ विद्यालयका ९१ जना शिक्षकहरुको सहभागिता रहेको थियो तालिम समापनमा रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले रीडको तर्फबाट वडा अध्यक्ष बस्नेतलाई तालिममा सक्रियताका साथ सहभागी भएको भन्दै सम्मान गरेका थिए । यसरी पुरै सहभागीको रुपमा अध्यक्ष नै सहभागी भएको यो पहिलो भएको बताए। यो सहभागिताले आफुलाई हौसला मिलेको र अन्य सहभागीहरु पनि खुसी भएको संयोजक गिरीले बताए।

प्रतिक्रिया दिनुहोस्