सौरभ कारन्जितका चार मुक्तक
मुक्तक १
नछाड्ने भो दु:खले हरेक पहरमा
हाँसेरै बाँचेको छु बिरानो शहरमा
पाईन्न है देखेको – पाईन्छ नि लेखेको
बित्ने भो यो जीवन अपूर्ण रहरमा ।
मुक्तक २
बाटो हेर्दै नबस्नु है! मेरो लागि दिन गनेर
मनलाई मनाउनु है! आउने छैन उ भनेर
सम्भव भए त म, पक्कै फर्कि आउने थिएँ
निस्किसकें तर जसै, आँखाको आँसु बनेर ।
मुक्तक ३
बोकेर घमण्डको बोट, तिम्रो भलो हुन्न साथी
दिएर अरुलाई चोट, तिम्रो भलो हुन्न साथी
राम्रो गर्न सक्दैनौ भने, नराम्रो पनि नगर
राखेर मनभरी खोट, तिम्रो भलो हुन्न साथी ।
मुक्तक ४
मनमा चोट परे नि ओंठमा मुस्कान बन्ने गर्छ
कसैको पीडामा साथ दिने नै महान बन्ने गर्छ
कति चोटबाट मान्छेको मन पत्थर बन्छ भने
चोटहरु सहेरै पत्थर चाहिं भगवान बन्ने गर्छ ।


