एमाले पोलिटब्यूरो बैठक : अध्यक्ष ओलीले केन्द्रीय समितिमा प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदन पारित



काठमाडौं।नेकपा एमालेले भोलि बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदन पारित गरेको छ।अध्यक्ष ओलीको अध्यक्षतामा बिहिवार बसेको पोलिटब्युरो बैठकले सो प्रतिबेदन पारित गरेको हो।यस अघि बसेको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको थियो ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पारेका थिए।भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।

एमाले केन्द्रीय कार्यालयका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने प्रक्रिया र मापदण्डका बारेमा छलफल भएको छ ।

बैठकमा पोलिटब्यूरो सदस्यहरु खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आ– आफ्ना सुझाव राखेका थिए।

बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णयहरू अनुमोदन गरेको छ। केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बस्ने एमालेले जनाएको छ।केन्द्रीय कमिटी बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट उठ्ने उम्मेदवारहरुको मापदण्डका विषयमा छलफल हुने बताइएको छ।

गत साउन २६ गते बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निर्वाचन परिचालन कमिटी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति निर्माण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्