काठमाडौं उपत्यकाका चोकमा प्रहरीको बाक्लो उपस्थिति,बन्दकर्ताद्वारा दुईवटा सार्बजनिक सवारी तोडफोड



काठमाडौं।काठमाण्डौ उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । अहिले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति छ । छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका छन् । कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।

कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।(फायल फोटो)

प्रतिक्रिया दिनुहोस्