मृत ब्यक्तिलाई जीवित बनाएको भ्रामक भिडियो भाईरल बनाउने पाष्टर राजेन्द्र गोतामे पक्राउ
काठमाडौ। मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् ।

बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
विवेक सत्यालको नामबाट आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

