समाजबादी चिन्तक प्रदीप गिरीको स्वास्थ्य अवस्था थप जटिल बन्दै
काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा सारेर उपचार जारी रहेको गिरिका स्वकीय सचिव कृष्ण खनालले बताए।
गिरिको स्वास्थ्यमा थप समस्या भएकाले शुक्रबार दिउँसोदेखि कसैलाई भेट्न नदिइएको उनले जानकारी दिए।
गिरिको घाँटीमा क्यान्सर भएपछि गत वर्ष साउनमा उपचारका लागि भारतको मुम्बई लगिएको थियो। करिब एक वर्ष उपचार गरेपछि उनलाई साउनमा नेपाल ल्याइएको थियो। पछिल्लो समय उनलाई निमोनियाले च्यापेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालका डा.पंकज वर्मनसहितको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेको छ। घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरीरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरिलाई थप समस्या भएको चिकित्सकले बताएका छन्।
सामाजिक सञ्जालमा गिरीबारे हतारमा लेखेका कुराले दुःखि तुल्याएको अस्पताल प्रशासनले जनाएको छ।

