कार्यदलको प्रगति शून्य,सिटबाँडबारे छलफल गर्न गठबन्धनका शिर्ष नेताको बैठक आज बस्दै
काठमाडौं।सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल हुनेछ ।

सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न बनाएको कार्यदलले अहिलेसम्म खासै प्रगति गर्न नसकेपछि शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक बुधबार पनि बसेको थियो । तर, सो बैठकले तालमेलको विषय टुंग्याउन नसकेपछि गठबन्धनका शीर्ष नेताबीच नै छलफल हुन लागेको हो ।
कार्यदल बैठकले शीर्ष नेताहरूसँग छलफल गरेर खाका बनाउने र त्यसको संयोजनको जिम्मा संयोजक सिटौलालाई दिने निर्णय गरेको थियो ।
आज शीर्ष नेताहरूबीचको बैठकमा सिटौला पनि सहभागी हुनेछन् । बैठकमा सिटौलाले कार्यदलको हालसम्मको प्रगतिका बारेमा शीर्ष नेतालाई ब्रिफिङ गर्ने तयारी छ ।
शीर्ष नेताबाट सिट बाँडफाँटको मोडालिटी तय भएपछि यसबारेमा टुंगो लगाउन कार्यदललाई सहज हुने सिटौलाको विश्लेषण छ ।
कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्को बैठकमा निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शीर्ष तहमा बुझाउने सहमति भएको बुधबार बताएका थिए । कार्यदलले पाएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगेको कार्कीको भनाइ छ ।

