के गर्लान् बलबहादुर ! को होला सोलुखुम्बुमा काँग्रेसको उम्मेदवार ?
सोलुखुम्बु।तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल भएर बाम गठबन्धनको तर्फबाट हेमकुमार राई ‘सुरबीर’ संघीय संसद प्रतिनिधिसभाका लागि उम्मेदवार बनेपछि ०७४ सालको प्रतिनिधिसभा निर्बाचनमा आफुले बिना मेहनत बिजय प्राप्त गर्ने कुरामा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी ढुक्क थिए।बर्षौंदेखि जिल्लाबाट प्रतिनिधित्व गरेर पटकपटक मन्त्री भइ सकेका बलबहादुरले आफ्नै गृह गाउँमा समेत परिचय बिस्तार गर्न नसकेको ‘अल्लारे ठिटो’ हेमकुमारलाई कम आँक्नु स्वभाविकै थियो।त्यसै त जसतसलाई मान्छे नगन्ने उनको स्वभाव,त्यसमाथि आफ्नै गाउँको खोला खोल्सी राम्रोसंग नचिन्ने हेमकुमार ! संसदीय राजनीतिका माहिर खेलाडी बलबहादुर ! बलबहादुरले सजिलै जित्छन् भन्ने तर्क गर्नेहरु पनि त्यतिबेला कम थिएनन् ।

एकातिर बाम गठबन्धनको रौनक अर्कोतिर हेमकुमारको भद्रपन,अन्ततः निर्बाचनमा बलबहादुर फराकिलो मतान्तरले पराजित भए।प्रजातन्त्र पुनस्थापनापछिको पहिलो आम निर्बाचन ०४८ यता एकलौटी रूपमा ६ पटक कांग्रेसको तर्फबाट उम्मेदवार बनेका केसी ४ पटक निर्बाचित र दुई पटक पराजित भएका छन्।पहिलो संबिधानसभा निर्बाचन (२०६४)मा तत्कालीन नेकपा (माओवादी)का गोपाल किँरातीसंग पराजित भएका उनी दोश्रो पटक संबिधानसभाबाट संबिधान जारी भएपछि ०७४ सालमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको पहिलो निर्बाचनमा पनि बामगठबन्धनकोतर्फबाट नेकपा (माओवादी केन्द्र) कै अर्का उम्मेदवार हेमकुमारसंग पराजित हुन पुगे।प्रतिनिधिसभा सदस्य निर्बाचित भएपछि तत्कालीन कांग्रेस नेतृत्वको सरकारमा पटकपटक मन्त्री भइ सकेका केसी सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनको मिति आगामी मंसिर ४ गतेका लागि घोषणा गरेयता पुनः एक पटक चर्चामा छन् ।नेपाली कांग्रेसभित्र ‘सिनियर’ नेताका रूपमा चिनिने केसी चर्चामा आउनु नौलो कुरा होइन।तर यसपटक उनी चर्चामा आउनुको कारण भने अघिल्लो निर्बाचनमा पराजय ब्यहोरेसंगै उनले सार्बजनिक रूपमा गरेको एउटा घोषणा हो।केसीले त्यतिबेला आफू अब प्रत्यक्ष निर्बाचन नलड्ने र सबैको अभिभावक बनेर बस्ने घोषणा गरेका थिए।उनी आफैंले गरेको त्यो घोषणालाई उनले कार्यान्वयन गर्लान् या फेरि अर्को भाका फेर्लान्? जिल्लाभित्र उनले गर्ने यो निर्णयलाई बडो उत्सुकताका साथ हेरिएको छ।
त्यसो त नेपाली कांग्रेसले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा नेकपा माओवादी केन्द्र लगायतका दलहरुसंग चुनावी गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ।मापदण्ड बनाएर सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको पांचदलीय कार्यदल गृहकार्य गरिरहेको छ।कार्यदलको सिफारिसमा पाँचदलका शीर्ष नेताले लालमोहर लगाएपछि कुन निर्बाचन क्षेत्र कुन पार्टीको भागमा पर्छ भन्ने कुरा बल्ल टुंगो लाग्छ।यद्यपि एउटामात्र निर्बाचन क्षेत्र भएको सोलुखुम्बु आफ्नो भागबाट उम्कन नदिन नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरु तीब्र कसरत गरिरहेका छन्।अघिल्लो निर्बाचनमा आफ्नो पार्टीले जितेका कारण संघीय सांसद आफ्नो भागमा पर्नुपर्ने माओवादी केन्द्रको माग छ भने स्थानीय तह निर्बाचनमा प्राप्त मतपरिणामका आधारमा आफुले पाउनुपर्ने तर्क कांग्रेस नेताहरुले गरिरहेका छन् । त्यसकारण सोलुखुम्बुमा संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि भागबन्डा निकै पेचिलो हुने ठानिएको छ।
भागबन्डामा सोलुखुम्बु नेकपा माओवादी केन्द्रले पायो भने हालका संघीय सांसद राई नै उम्मेदवार बन्ने करिब निश्चित रहेको बताईन्छ।तर कांग्रेसको भागमा पर्यो भने उम्मेदवार यो हो भनेर सहजै किटान गर्न गार्हो छ।
‘सोलुखुम्बु नेपाली काङ्ग्रेसमा पुराना नेता केसीले २ बर्ष अघि नै चुनाबमा नलड्ने भनेर सन्यास लिएर बाटो खुला गरिदिनु भो ! सायद उमेरका कारण पनि होला ! अरु साथीहरु चुपचाप देख्छु ! होइन फेरि सोलुखुम्बुको माननीय भागबण्डामा पुर्याउने कोसिस त गरिएको होइन ? खबरदार हामी तयार छौ है ! तेसो गर्न पाइन्न !’ बलबहादुर श्रम तथा रोजगारमन्त्री हुंदाका उनका निकट सहयोगी शंकरबाबु कार्कीको यो फेसबुक स्टाटसले पनि सोलुखुम्बुमा कांग्रेसको उम्मेदवार बन्न कति पापड बेल्नुपर्छ भन्ने कुरा प्रस्ट संकेत गरेको छ।झण्डै ७० बर्षीय केसीदेखि शंकर बाबु कार्कीसम्म उम्मेदवारका आकांक्षी छन्।यो अवस्थामा आफू चुनाव नलड्ने घोषणा गरिसकेका पूर्बमन्त्री केसीले आफु समानुपातिकतर्फ बसेर प्रत्यक्षमा अरुलाई नै सहयोग गर्न सक्ने अड्कलबाजी धेरैको छ।
सोलुखुम्बु कांग्रेसभित्र राम्रो पकड बनाउँदै लगेका नेपाली कांग्रेस सोलुखुम्बुका बर्तमान सभापति नाम्गेल जाङ्बु शेर्पा सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा निर्बाचित भएका कारण उनले अहिले नै संघीय निर्बाचनमा उम्मेदवारको दावी गर्ने अवस्था छैन।पूर्बसभापति बिनोद बस्नेतले प्रदेश ‘क’ मा दावी गर्ने सम्भावना छ।यदि बलबहादुर समानुपातिकतर्फ बस्न तयार भएभने संघीय संसद प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका लागि केन्द्रीय सदस्य आङगेलु शेर्पा र अर्का नेता प्रकाशसिं कार्कीबीच कडा टक्कर हुने चर्चा कांग्रेसबृत्तमा चल्ने गरेको छ।शेर्पा र कार्की दुबैजना कांग्रेसको संस्थापन निकट मानिन्छन्।
जिल्ला कार्य समितिका पूर्ब सभापति समेत रहेका केन्द्रीय सदस्य शेर्पा बलबहादुरका कटु आलोचक समेत हुन्।बिनोद बस्नेत सभापति हुंदा अघिल्लो कार्यकाल पार्टीभित्र पकड कम्जोर भएपनि चौंधौं जिल्ला अधिबेशनपछि शेर्पा एकाएक शक्तिका रूपमा पुन:उदाएका छन् । जसका कारण जिल्ला कार्य समितिबाट जतिबेला पनि उनी आफु अनुकुल निर्णय गराउन सक्ने हैसियतमा छन् । त्यसकारण पनि उनी जिल्लामा कांग्रेस उम्मेदवारका लागि स्वभाविक र बलियो हकदार भएको उनका समर्थकहरुको भनाई छ।
उता कार्कीले संघीय निर्बाचनमा आफू उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका त छैनन् । तर परि आए नछाड्ने मनष्थितिमा उनी रहेको निकटस्थहरु बताउँछन्।सक्रिय राजनीति सुरु गरेको छोटो समयमै आफुलाई जिल्लाब्यापी रूपमा स्थापित गर्न सफल कार्की जिल्लामा पार्टीको गुटगत राजनीतिमा आफुलाई मझदारमा हिंडाईरहेका छन्।कतिपय मुद्दाहरुमा केसी निकट र कतिपयमा मुद्दाहरुमा शेर्पा निकट देखिने कार्की नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारी सदस्य हुनु अर्को सबल पक्ष हो।उद्योग बाणिज्य क्षेत्रका समस्याको नीतिगत समाधानका लागि संसदमा कसैको प्रतिनिधित्व आवश्यक ठानेर ब्यबसायीहरुले लविङ गरे भने त्यतिबेला पार्टी नेतृत्वले इन्कार गर्न नसकेका यसअघिका प्रशस्तै उदाहरणहरु छन्।त्यस कारण ब्यक्तिगत रूपमा कार्कीलाई पनि कम आंक्न नमिल्ने एकथरीको भनाई छ।दौड बाहिर रहेको अवस्थामा शेर्पा र कार्कीबीच तीब्र प्रतिस्पर्धा भयो भने निर्णायक फेरि पनि केन्द्रीय सदस्य केसी नै हुने सोलु कांग्रेसका कार्यकर्ताहरु बताउंछन्।केसीले दुईजनामध्ये जसलाई समर्थन गर्छन्,त्यतिबेला उसैको पल्लाभारी हुने उनीहरूको विश्लेषण छ।

