गभर्नर अधिकारीको राजीनामा माग गर्दै कांग्रेस र माके निकट विद्यार्थी संगठनद्वारा बिरोध प्रदर्शन
काठमाडौं।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन ।

आईतवार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा बिरोध प्रदर्शन गरेको हो ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि गभर्नरबिरुद्ध आन्दोलन भएको हो । सरकारलाई दबाब दिएर गभर्नरको राजीनामा माग गर्न विद्यार्थीहरुले प्रदर्शन शुरु गरेका छन ।
बिरोध प्रदर्शनमा बोल्दै अहिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको बताए ।
उनले गभर्नरको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए । राज्यको शक्तिको दुरुपयोग गरेर नेकपा एमालेले अहिलेपनि काम गरिरहेको आरोप लगाए ।
उनले ऐनलाई छलेर एमालेले अर्थतन्त्रको नेतृत्व गर्न दिएको भन्दै राजीनामा आउनुपर्ने माग गरे । उनले नेकपा एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको बताए ।
उनले डमीको रुपमा ल्याउन लागिएका एम अधिकारी स्वीकार्य नहुने चेतावनी दिए ।
बिरोध प्रदर्शनमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताए । उनले २४ घण्टाभित्र राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी दिए ।
अध्यक्ष शेर्पाले आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए ।

