नेचासल्यानमा एम्बुलेन्स सेवा समेत ठप्प,करार थप नगर्ने निर्णय फिर्ता लिन कर्मचारी संगठनको माग
डिल्ली शर्मा,सोलुखुम्बु।नेपाल निजामती कर्मचारी संगठन नेचासल्यान पालिकास्तरीय समितिले अस्थायी र करार कर्मचारीहरुको करार अवधि थप नगर्ने गाउँ कार्यपालिकाको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

साउन १ गतेदेखि काममा नआउन भन्दै अस्पताल र गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्य संस्थाका अस्थायी,करार र ज्यालादारी कर्मचारीहरुलाई सूचना जारी गरेपछि गाउँपालिका अन्तर्गतका स्वास्थ्य तथा अन्य कार्यालयहरुबाट प्रदान गरिंदै आएका सेवा प्रवाह ठप्प भइ सेवाग्राहिलाई मर्का परेको भन्दै संगठनको गाउँ पालिकास्तरीय समितिका अध्यक्ष युवराज शर्माले शुक्रबार बिज्ञपति प्रकाशित गरि गाउँ कार्यपालिका को निर्णय फिर्ता लिन माग गरेका हुन्।
संगठनले राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यले लोकतान्त्रिक बिधि र प्रक्रिया बिपरित अशोभनीय ढंगले गरेको यो निर्णय फिर्ता नलिए चरणबद्द आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
बिज्ञप्तिमा अस्थायी,करार र ज्यालादारी कर्मचारीको सुरक्षाको प्रत्याभूत गर्दै अनुभवी कर्मचारीहरुको कार्यसम्पादन उचित मूल्यांकनका आधारमा पुरस्कार र कार्बाहीप्रती संगठनको आपत्ति नरहेको जनाउँदै केहि नेताको चाहना पूरा गर्नका लागि भएको यो निर्णय खेदजनक र भत्सर्नायोग्य रहेको उल्लेख गरिएको छ।
नेचासल्यानले आजबाट लागु हुने गरि अस्थायी,करार र दैनिक ज्यालादारी कर्मचारीहरु हटाउने निर्णय गरेको थियो।सो निर्णयका कारण गाउँपालिका भित्र रहेका सबै कार्यालय र अस्पताल र स्वास्थ्य संस्थाहरुको सेवा प्रबाह प्रभावित भएको छ।स्वास्थ्य सेवा र एम्बुलेन्स सेवा समेत अवरुद्ध भएपछि स्थानीयहरु ठुलो मर्कामा परेका छन् ।

