बल्ल पायो प्रतिनिधिसभाले उपसभामुख ,गठबन्धनकी उम्मेदवार भुसाल निर्वाचित
काठमाडौँ।प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् ।

उपसभामुखमा निर्वाचि भुसालले १४८ मत प्राप्त गरिन् भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्रै पर्यो । साढे २ वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाएकी हुन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।
उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।

