सोलुखुम्बु : बित्तीय अनुशासनमा थुलुङदुधकोशी पहिलो,सोलुदूधकुण्ड दोश्रो
सोलुखुम्बु। अन्य गाउँपालिकाको तुलनामा बिकास निर्माण र नयाँ निर्णयका कारण संधै चर्चाको शिखरमा रहेको जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका बित्तीय अनुशासनमा पनि अग्रणी देखिएको छ।

पछिल्लो समय स्थानीय तहमा बढ्दो बित्तीय अनुशासनहिनताका कारण बेरुजुको चाङ लागिरहेका बेला सोलुखुम्बुका आठवटा स्थानीय तहमध्ये थुलुङ दुधकोशीले सरकारी खर्चको हिसाब सहिसलामत ढंगले राखेकै कारण बित्तीय अनुशासनमा पनि आफुलाई अग्रणी कायम गर्न सफल भएको हो।सरकारी कार्यालयहरुको हरहिसाब र लेखाप्रणाली परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले बुधबार सार्बजनिक गरेको ५९ औं प्रतिबेदन अनुसार सो गाउँपालिकाको बेरुजु सबै भन्दा कम १.४५ प्रतिशत उल्लेख गरिएको छ।प्रतिबेदन अनुसार सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको ९.३६ प्रतिशत छ।
महालेखा परीक्षकको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिबेदन अनुसार कम बेरुजु भएको थुलुङ दुधकोशीको १ अर्ब ४ करोड १२ लाख ५० हजारको लेखा परीक्षण गर्दा १ करोड ५१ लख ४७ हजार र बढी बेरुजु भएको माप्यदुधकोशीको ६३ करोड ४० लाख ६ हजारको लेखा परीक्षण गर्दा ५ करोड ९३ लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यस्तै,नगरपालिका सोलुदुधकुण्डको ३ करोड २८ लाख ४९ हजार रकम बेरुजु पाइएको छ । १ अर्ब ४१ करोड ४६ लाख ७३ हजारको लेखा परीक्षण गर्दा २.३२ प्रतिशत रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । सोलुदुधकुण्ड बितीय अनुशासन कायम गर्न सफल जिल्लाको दोश्रो स्थानीय तह हो।
यस्तै सोताङ गाउँपालिकाको ५ करोड ३२ लाख ५२ हजार रुपैयाँ रकम बेरुजु पाइएको छ । ६८ करोड ६५ लाख ५२ हजारको लेखा परीक्षण गर्दा ७.७६ प्रतिशत र खुम्बु पासाङल्हामु गाउँपालिकाको ४ करोड १५ लाख ६६ हजार बेरुजु रहेको महालेखाले औँल्याइएको छ । ६५ करोड ८३ लाख १३ हजारको लेखा परीक्षण गर्दा ६.६१ प्रतिशत रकम बेरुजु पाईएको सो प्रतिबेदनमा उल्लेख छ।
प्रतिबेदनमा उल्लेख भए अनुसार लिखुपिके गाउँपालिकाको २ करोड ६९ लाख ९५ हजार बेरुजु पाइएको छ । ५० करोड ८१ लाख ९१ हजारको लेखा परिक्षण गर्दा ५.३१ प्रतिशत रकम बेरुजु देखिएको हो ।
नेचासल्यान गाउँपालिकाको २ करोड ९८ लाख ८१ हजार रुपैयाँ बेरुजु पाइएको छ । ९१ करोड १२ लाख ९१ हजारको लेखा परीक्षण गर्दा ३.२८ प्रतिशत रकम बेरुजु देखिएको छ ।
यस्तै महाकुलुङ गाउँपालिकाको २ करोड २१ लाख १० हजार बेरुजु देखिएको छ । ७१ करोड १८ लाख ८० हजारको लेखा परीक्षण गर्दा ३.११ प्रतिशत रकम बेरुजु पाइएको हो ।
बित्तीय अनुशासनमा आफुलाई अग्रणी कायम गर्न सफल थुलुङदुधकोशीको अध्यक्ष अशिम राई र सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख नाम्गेल जाङ्बु शेर्पा हुन्। गत बैशाख ३० गते सम्पन्न दोश्रो स्थानीय निर्बाचनमा पनि उनीहरू पुनः निर्बाचित भएका छन्। राई माओवादी केन्द्र सोलुखुम्बु समन्वय समिति र शेर्पा कांग्रेस जिल्ला कार्यसमितिका सभापति समेत हुन्।
मनलाग्दी खर्चमा नियन्त्रण,आवश्यकता अनुसारका योजना छनौट र बिधिपूर्बक ठेक्का प्रक्रिया अगाडी बढाउंदा थुलुङ दुधकोशी बेरुजु कम गर्न सफल भएको अध्यक्ष राईको भनाई छ।

