गभर्नर अधिकारी प्रकरण : प्रतिनिधि सभामा सत्ता पक्ष र बिपक्षी सांसदहरुबीच आरोप प्रत्यारोप
काठमाडौ।नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

नेकपा एमालेको अन्तर्पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हो वा होइन भन्ने यकिन भइसकेको छैन ।
बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा छानबिन गर्न माग गरेकी हुन् । ‘राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गर्छु ।’
अमृता थापा, अन्जना विशंखेलगायतका सांसदहरूले पनि गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाएका छन् ।
उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीको अर्थ योजना विभागका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेको छ ।
‘एम अधिकारी भन्ने व्यक्ति नेकपा एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भनी सत्ता पक्षका सांसदले अर्थ मन्त्रालयको अक्षमता लुकाउनका लागि विषयान्तर गरी मनोगत भावना राखेको देख्दा आफैंलाई दयाभाव जागिरहेको छ,’ उनले भने, ‘स्वयं अधिकारीले म कुनै पार्टीमा छैन भनेर वक्तव्य दिइसकेको विषय संसदमा उठाउन मिल्ने विषय पनि होइन ।’
एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर अधिकारी भएको चर्चा चलेको बेला एम अधिकारी अरू नै व्यक्ति रहेको भन्दै एमालेले खण्डन गरेको गरेको हो ।
बुधबारको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर अधिकारी नभई अरु नै व्यक्ति भएको भन्दै खण्डन गरे । सरकारले आफ्नो असक्षमता लुकाउन गभर्नर प्रकरण उठाएको आरोप लगाए ।

