फुटको संघारमा जसपा, भट्टराई र यादव आ-आफ्नो बाटो लाग्ने
काठमाडाैँ ।जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै गर्दा पार्टी फुटको संघारमा पुगेको छ।

जसपाको उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक गरी मन्त्री फेर्ने र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई कारबाही गर्ने सम्मको निर्णय गरेपछि भट्टराईले अलग हुने निर्णय गरेका छन्।
डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए ।वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईले प्रस्ताव गरेका थिए।त्यसमा यादव पनि सहमत भएको भट्टराई निकट एक नेताको भनाइ छ।सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतको भनाइ छ।
नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ ।
बाहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ पठाउनेहरुको नाम तय गर्ने जिम्मा पार्टीले अध्यक्ष यादवलाई दिएपछि जसपाभित्रको असन्तुष्टि विस्फोट हुने अवस्थामा पुगेको थियो ।जसपाको तर्फबाट रेनु कुमारी यादव भौतिक पुर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषि तथा पशुपंक्षी विकास, रामसहाय प्रसाद यादव वन तथा वातावरण र राजेन्द्र प्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन्।

