बजेट : ङिमदोर्जी शेर्पा पर्यटन सडकको ट्र्याक ओपन खुम्बु पासाङल्हामुको प्राथमिकतामा



गार्डेन राई,सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पूर्वाधार विकास स्वास्थ्य, शिक्षा र जनताको मौलिक हक प्रबद्र्धनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाको अध्यक्षतामा सम्पन्न दोश्रो गाउँसभाको ११औं अधिवेशनबाट आगामी आर्थिक वर्षका लागि उपाध्यक्ष टासी ल्हामु शेर्पाले प्रस्तुत गरेको स्वीकृत अनुमानित आय तथा व्यय बजेट पारित गरिएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए ।

५३ करोड ६ लाख ६८ हजार ७ सय ५० रुपैयाँको कुल बजेटमा गाउँपालिका केन्द्रलाई सोझो सडक सञ्जालसँग जोड्न निर्माणाधिन ङिमदोर्जी शेर्पा पर्यटन सडकको ट्रयाक ओपन कार्यलाई पहिलो प्राथमिकतामा राखी सडक, पुल, पर्यटकीय पदमार्ग लगायत पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी कृषि क्षेत्रमा देखिएका विभिन्न रोग तथा किराहरुको नियन्त्रण गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्न आधुनिक यान्त्रिकरण उपपचार प्रणाली, माटो परीक्षण तथा नयाँ विउ बिजन र बालीहरुको प्रबद्र्धनका साथै मानव संशाधन र नागरिकको स्वास्थ्य प्रतिको मौलिक हक प्रबद्र्धनलाई बजेटले प्राथमिकतामा राखेको प्रबक्ता शेर्पाको भनाई छ ।

“गुणस्तरीय शिक्षाको आधार, प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार” नारालाई सार्थक बनाउन शैक्षिक गुरुयोजना तयार गरी आवश्यकीय शैक्षिक पूर्वाधार संरचना निर्माणका साथै स्कुल सफ्टवयर निर्माण गरी सफ्टवयर मार्फत विद्यालयको तथ्यांक अद्यावधिक अनुगमन, मूल्यांकन र नियमन गर्ने व्यवस्था गर्नुका साथै गाउँपालिकाले स्थानीय स्रोत साधन र वातावरण अनुरुप मानवीय श्रोतको उत्पादन तथा परिचालन गर्न स्थानीय पाठ्यक्रम तर्जुमा गरी पठन पाठनको व्यवस्था मिलाउने कुरा बजेटमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले तर्जुमा गरेका योजना तथा कार्यक्रम संचालन गर्न अनुमानित ५३ करोड ६ लाख ६८ हजार ७ सय ५० रुपैयाँको बजेटमा गाउँपालिकाको आन्तरिक आयबाट २३ करोड ७० लाख ८८ हजार ७ सय ५०, संघीय सरकारबाट २० करोड ३७ लाख, विकास निर्माणको साझेदारी लगानीबाट ३ करोड, प्रदेश सरकारबाट २ करोड ५४ लाख, भारतीय दुतावासबाट २ करोड १२ लाख ८० हजार र जिल्ला समन्वय समिति साझेदारी कार्यक्रमबाट १ करोड ३१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्