एमालेको बहिष्कारकाबीच प्रतिनिधिसभाबाट बिनियोजन बिधेयक पारित



काठमाडौं।बजेटको मूल विधेयक मानिने विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकले बजेटको मूल विधेयकको रूपमा लिइने विनियोजन विधेयक बहुमतबाट पारित गरेको हो।बिहीवार अपराह्न अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

विनियोजन विधेयकलाई सभामुखले निर्णयार्थ पेश गर्ने समयमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसदमा उपस्थित भएका थिए । आफूले सम्हालेका मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिन नआएको भन्दै संसदमा देउवाको तीव्र आलोचना भएको थियो ।

त्यसअघि संसदमा मन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । विनियोजन विधेयक पारित भए पनि आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक भने संसदको अर्को बैठकबाट पारित गर्ने सचिवालयको तयारी छ ।

बजेटका पूरक विधेयक मानिने यी ३ विधेयकमाथि बिहीवार नै अर्थमन्त्री शर्माले विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

विनियोजन विधेयक पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो । सरकारले गत जेठ १५ गते प्रतिनिधि सभामा अर्थिक वर्ष २०७९/०८० को बजेट पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्