प्रदेश निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमका लागि प्रदेश १ मा प्रतिसांसद एक करोड दिइने
बिराटनगर।प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तरगत प्रत्येक सांसदलाई एक करोड रुपैयाँ दिनेभएको छ।

बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सो कार्यक्रमका लागि ९० करोड रुपैयाँ छुट्याइएको जानकारी दिएका हुन्। प्रदेशमा ९३ मध्ये हाल ९० सदस्य प्रदेश सभामा छन्।
मन्त्री आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका थिए।यो चालु आर्थिक वर्षको तुलनामा सात अर्ब २७ करोड बढी हो। चालु आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड रुपैयाँको बजेट ल्याइएको थियो।
उनले आन्तरिक राजश्वबाट चार अर्ब ९८ करोड ४५ लाख र राजश्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख प्राप्त हुने बताए।संघबाट प्राप्त हुने समपुरक अनुदान ९२ करोड, वित्तीय समानीकरण अनुदान नौ अर्ब ८२ लाख, ससर्त अनुदानबाट आठ अर्ब ६९ करोड र विषेश अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। बाँकी रकम वैदेशिक अनुदान र मौज्दातबाट प्राप्त हुने जनाइएको छ।
प्रदेश सरकारले ६६ वटा प्रादेशिक र रणनीतिक सडक निर्माण गर्न पाँच अर्ब बजेट बिनियोजन गरेको छ। आङ्बोले प्रदेश सभामा प्रस्तुत गरेको बजेटले प्रदेशका १४ वटै जिल्लामा एक सय वटा झोलुङ्गे पुल निर्माण गर्न आगामी वर्षका लागि २० करोड रुपैयाँ बिनियोजन गरिएको छ।
पहाडी र दुर्गम क्षेत्रमा बाह्रैै महीना यातायात सञ्चालन गर्न १० वटा बेलिब्रिज निर्माण गरिने भएको छ। जसका लागि आठ करोड विनियोजन गरिएको छ।
कृषिमा दुई अर्ब ५९ करोड २३ लाख रुपैयाँ छुट्याइएको छ। उत्पादनमा आधारित प्रोत्साहनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। साना किसानलाई ऋण सहुलियतका लागि नौ करोड रुपैयाँ छुट्याइएको छ।
किसानलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने बजेटले घोषणा गरेको छ। बजेटले घरेलु मदिरा ब्रान्डिङका लागि पनि बजेट छुट्याएको छ।
एक पालिका एक उत्पादनका लागि १३ करोड रुपैयाँ विनियोजन गरिएको छ। समयमै मनोरञ्जन कर बुझाउनेलाई छुट दिइने भएको छ। सवारी साधनमा लाग्ने कर एकै पटक पाँच वर्षका लागि बुझाएमा १० प्रतिशत छुट दिइने भएको छ।

